भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मेरो इतिहासको आयु / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:25, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ब्रह्माण्डको तुलनामा सूर्यको आयु
सूर्यको तुलनामा पृथ्वीको आयु
पृथ्वीको तुलनामा सृष्टिको आयु
सृष्टिको तुलनामा मानवजातिको आयु
अथाह जलराशिको तुलनामा
सूक्ष्म जलबिन्दुको आयु
थाहा छैन कति हुने हो,
कहाँ अङ्कित हुने हो
मेरो सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।

जाँगरको छिनो र हतौडी चलाएर
दृढ विचारका सामग्रीहरू बटुल्दै
तन्काएर सूक्ष्मतर चेतनाका डोरीहरू
तल्लीन म भवन बनाउन इतिहास नामको
श्रमको दौरानमा क्लान्त भएपछि
एकैछिन सुस्ताउन बस्ता पसिना पुछेर
अनायास तीव्रगतिमा विद्युत् तरङ्गजस्तो
मनमा प्रश्नका छालहरू उठ्छन्
मोनेराबाट सुस्तरी विकसित हुँदै मानवमा
असभ्यताको अँध्यारो गुफाबाट निस्किएर
सभ्यताको उज्यालो प्राङ्गणमा
जेजति सफलता आर्जन गर्योग मानिसले
के–कति स्थापित मान्यता फेर्यो मानिसले
यसै क्रममा निर्माण भएको उसको इतिहास
रगतले लेखेको इतिहास
पसिनाले भिजेको इतिहास
कसले कति चिन्तन गर्योत
कसले कति मनन गर्यो्
को कति सम्मानले नुह्यो
कसले कति आत्मसम्मानको पाठ लियो
कसको इतिहासको कति औचित्य रह्यो
अनि के–कति औचित्यपूर्ण रहनेछ
मेरो सानो आयुले निर्माण गरेको
मेरो इतिहास अनि त्यसको आयु ।

काँचै निलिदिन पाए हुने सोचे होला कसैले
आत्मीयताको स्वच्छ सगरमाथा
उभ्याए होला कसैकसैले
आँखाको पुतली मानिए पनि
बिझाउने कसिङ्गर ठानिए पनि
मेरो ऊर्जाले भ्याएसम्म
मेरो क्षमताले दिएसम्म
मैले तय गरेँ जेजस्तो यात्रा
मैले प्राप्त गरेँ केकस्तो गन्तव्य
खोइ कति हुने त्यसको आयु
मेरो इतिहासको आयु ।

कस्ता थिए आँधी र सुनामीहरू
अनि कस्तो थियो कुदाइ मेरो
समयले निष्ठूरतापूर्वक घोटेको कसीमा
कस थियो या थिएन मेरो
प्रसन्नताले पुलकित भयो वा भएन
समय मेरो आगमनमा
पीडाले व्यथित होला नहोला
समय मेरो अवसानमा
सार्थक रहेँ वा रहिनँ म
जीवनका लागि जगत्का लागि
यस छोटो आयुमा जानी–नजानी
जे–जति निर्माण भयो इतिहास मेरो
खोइ के–कति हुने हो त्यसको आयु
मेरो इतिहासको आयु ।

म चर्चित भएँ, म प्रशंसित भएँ
मैलै चुनेका शब्दहरू,
मैले बुनेका वाक्यहरू
ओठ–ओठमा रमाए
कति हो कति
आत्मीयहरूले म अकिञ्चनमाथि
स्नेहसिन्धु खन्याए
स्याबास भने कसैले, धन्यवाद दिए कसैले
सातो पनि लिए कसैकसैले
कसैले अभिवादनमा हात बढाए
कसैले प्रेमको रमझम वृष्टि गरे
कसैले कपटयुक्त कालो दृष्टि गरे
एकान्त कुनामा पसेर
मौनताको आसनमा बसेर
सुस्तरी–सुस्तरी झन्किरहेका
मस्तिष्कका तारहरूमा
तरङ्गित हुँदै छ एउटै प्रश्न
मेरो यात्रा भनौँ या हिँडाइ
तुलनामा पृथ्वीको हिँडाइको
कति सूक्ष्म होला कति नगण्य होला
अनि के–कति समयसम्म अस्तित्वमा रहला
मेरो सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।
 
म जे बाचेँ जस्तो बाचेँ
भक्कानो परेर रोएँ या
खित्का छाडेर हासेँ
फुले होलान् कति हो कति
मुस्कानका कमलहरू
मेरा ओष्ठ–सरोवरहरूमा
उठे होलान् कति हो कति
पीडाका लहर तरङ्गहरू मेरो हृदयकेन्द्रमा
कुत्कुत्याए होलान् प्रसन्नताले
पुलकित बनाउँदै मनलाई
जे होस् समय जे गरी बित्यो जसरी बित्यो
चिन्ता छैन पश्चात्ताप छैन
पैतालाहरू जहाँ परे जसरी परे
सुस्केराका बतास चले वा आँसुका झरी झरे
समयको हिँडाइमा कता हो कता हराउनेछन्
पदचिह्नहरू मेरा
अनि कहाँ रहनेछ कसरी रहनेछ
मेरो सूक्ष्मतर इतिहास
थाहा छैन के–कति हुनेछ त्यसको आयु
मेरो सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।

थाहा छैन पृथ्वीको अनन्त लामो हिँडाइमा
के–कस्तो हुने हो स्वरूप प्रकृतिको
संसार कहाँ जाने हो कसरी जाने हो
कस्तो हुने हो जीवन र सभ्यता कस्तो हुने हो
सृष्टिको आँगनमा
बढ्ने हो वा होइन प्रेम र सद्भाव
प्रसन्नताले पुलकित हुन्छ वा हुँदैन
मानिसको मन
कति दुष्कर कति दुरूह हुँदै जाने हो
स्वभाव मनुष्यको
मानिस क्षुद्र अति क्षुद्र हुँदै गयो भने
मानिस ज्वालामुखीसरह पोखिँदै गयो भने
हिंसा र हत्याको
नारकीय कुण्डसदृश भइदियो भने
खोइ के अर्थ हुनेछ
सङ्घर्षका ज्वारहरूमा हेलिँदा
तरतरी झरेका पसिनाहरू मानिसका
सुस्केराहरू, ऊहापोहहरू
र मृगमरिचिकाहरू मानिसका
सोचिरहेछु एकाग्र भएर
कति हुनेछ निर्माण हुन
अझै बाँकी रहेको मेरो इतिहास
अनि त्यसको आयु ।

कसले कुँद्छ ताम्रपत्रमा मेरो कथा
कसले खोप्छ शिलापत्रमा मेरो व्यथा
कहाँ कसरी सुरक्षित राखिन्छ मेरो जीवनगाथा
नत्र भने हिँडाइको क्रममा समयको
महान् विभूतिहरूका, शिरोमणिहरूका
वीर योद्धाहरूका, विश्वविजेताहरूका
पथप्रदर्शकहरूका, सिद्धान्तकारहरूका
कहाँ हो कहाँ हराउन सक्छन् गौरवमय कथाहरू
अनि कहाँ कसरी रहिरहनेछ
म अकिञ्चनको सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।
 
कसले भन्न सक्छ
सौरपेटिकाभित्र हान्निँदै छिरेका
उल्कापिण्डहरूबाट धक्का खाँदा
धुम्रकेतु बनेर बतासिँदैन पृथ्वी
अनि दोहोरिँदैनन्
प्रलय र महाप्रलयका व्यथाहरू
अनि निश्चितै कहाँ हो कहाँ हराउँछन्
बडो कष्टले निर्माण गरेका इतिहासहरू
ठूलै बलिदान दिएर प्राप्त गरेका सफलताहरू
अनि कसरी सोचौँ
कहाँ सुरक्षित हुनेछ कसरी संरक्षित हुनेछ
मेरो सानो इतिहास
अनि कति हुनेछ त्यसको आयु ।

नभत्किउन्जेल रङ्गमञ्च
अभिनय गर्नेछन् सबैले
बनाउन आफ्नो प्रशंसास्तम्भ
पसिना सोस्नेछन् अरूको धेरैले
प्रसन्नता ओठहरूमा पोतेर
हाँस्न सक्नेछन् कलुषित मनहरू
उकुसमुकुसको पर्खालमा
बन्दी रहनेछन् निर्मल भावनाहरू
अनुमानै गर्न सकिन्न,
यस फराकिलो विश्वमा
कसले के गर्योश कति गर्योू
यस धरतीमा को कसरी बाँच्यो
बाँच्यो आफ्नै लागि
सुकोमल शयनागारमा मस्त निदायो या
विश्वबन्धुत्वका लागि मर्‍यो
हातेमालो गर्दै आततायीहरूसँग
धुवाँएर अत्यायो संसारलाई
या निथु्रक भिज्यो सङ्घर्षका अविरल वर्षाहरूमा
र बलिदानपूर्ण जिन्दगी बाँच्यो
इन्क्लाबको समर्थनमा शिर उच्च गरेर
आत्मबलिदानको उदाहरण बन्यो
कसले इतिहास लेख्यो कसको
झिनो सूत्रमा भयानक फूलबुट्टा भर्‍यो
कसले इतिहास लुकायो कसको
र लिनु हुर्मत लियो
भन्नै नसकिने, अनुमानै गर्न नसकिने
यस विषम परिवेशमा
भित्ताको सानो छिद्रबाट
तेर्सो झरेको घामको धर्सामा उड्ने
धूलिकणसदृ्श मेरो आयु
के–कति हुने हो त्यसको आयु
अनि त्यस सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।
 
जीवनवृक्षबाट झर्दै छन् पातहरू आयुका
जीवन समयको वेगवान् नदीबाट
हरेक क्षण काटिँदै गरेको विमूढ किनारा
चञ्चल लहर तरङ्गहरू अघि बढिसके
समाहित गर्दैगर्दै आफूभित्र
सबै नै ऊर्जा र उर्वरताहरूलाई
निश्चितै विसर्जित हुनेछ जीवन
एउटा सानो समयको अन्तरालपछि
पटाक्षेप हुनेछ सबैसबै कुराको
दृश्यविहीन हुनेछ सबैसबै कुरा
मृत्युका चिसा हत्केला फैलिएपछि
प्रज्वलित अग्निकुण्डमा म दन्कँदै सकिएपछि
कति स्थान ओगट्न सफल हुनेछ
सृष्टिको आयुमा मेरो आयु
अथाह सिन्धुमा एउटा जलबिन्दुको आयु
थाहा छैन के हुने हो कति हुने हो
मेरो सानो आयुले निर्माण गरेको
मेरो इतिहासको आयु ।