भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मेरो कविताको नायक / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:26, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


शान्त छ ऊ
प्रशान्त छ ऊ
सरलमा अति सरल
वक्रमा असाध्य वक्र
सशक्त, बलिष्ठ अनि दृढ
सतिसालको रूखजस्तो
सुन्दर विचारको प्रणायक
मेरो कविताको नायक ।

अन्धकार बस्तीहरूमा
चेतनाको डाक बोल्छ ऊ
अवचेतनाको कालो पर्दा
निर्धक्क भएर खोल्छ ऊ
साँगुरा परिवेशहरू भत्काएर
सुशान्त प्रभातको सपना देख्ने
गर्जँदै गरेको नदीमा उठेको छालजस्तो
सुन्दर विचारको प्रणायक
मेरो कविताको नायक ।

मेरो चेतनाभरि सल्बलाइरहन्छ ऊ
निष्ठूर जडता खलबल्याइरहन्छ ऊ
म सधैँ–सधैँ देखिरहन्छु उसलाई
मेरा कविताहरूमा लेखिरहन्छु उसलाई
कतै मेरो कल्पनाको किनारा नछोओस्
सतर्क छु म
कतै मेरो भावनाको ध्वनि नसुनोस्,
सावधान छु म
समृद्ध आत्मीयता रहोस् सधैँ–सधैँ
उन्मुक्त गीतहरूको गायक
मेरो कविताको नायक ।

खोइ थाहा छ कि छैन उसलाई
ऊ मेरो मनमा बसेको कुरा
भावनाका लप्काहरू दन्कँदा
मनका दीपहरूबाट ओर्लँदै
कागजका पानाहरूमा
कविता हुँदै खसेको कुरा
फैलँदै गएको मनको मधु–गङ्गामा
तरङ्गजस्तो डुलिरहन्छ ऊ
ऊ हो युग परिवर्तनको प्रणायक
मेरो कविताको नायक ।

आतुर आँखा यत्नपूर्वक खोजिरहन्छन् उसलाई
व्याकुल मन निर्बाध रूपले रोजिरहन्छ उसलाई
अग्ला पर्खालहरूले पनि नछेकिएर
पिँजडाभित्रबाट पनि द्रुतवेगले लम्किएर
उसकै रेखाचित्रहरूमा रङ भरिरहन्छ मन
उसकै शब्दहरूमा सङ्गीत गरिरहन्छ चेतना
मेरो सृजनामा प्रेरणादायक
मेरो कविताको नायक ।

मानौँ ऊ कुनै किरण हो
झलमलाउँदै वसन्ती धर्तीमा झरेको
मानौँ ऊ सुवासको झोक्का हो
फूलका पत्रदलहरूबाट मगमगाउँदै उडेको
गर्जँदै गरेको नदीमा उठेको छालजस्तो
फूलजस्तो नरम आत्मीयहरूका लागि
शूलजस्तो कठिन दुष्टहरूका लागि
सबल छ, गतिवान् छ
उन्मुक्त गीतहरूको गायक
मेरो कविताको नायक ।

अवचेतनालाई घचघच्याइरहन्छ ऊ
नवनिर्वाणका लागि सकसकाइरहन्छ ऊ
सभ्य अनि बोधगम्य छ ऊ
शिष्ट अनि कर्तव्यनिष्ठ छ ऊ
आँखाहरू उसकै चित्र
खोजिरहन्छन् सधैँ–सधैँ
भावनाहरू उसकै ध्वनि
रोजिरहन्छन् सधैँ–सधैँ
उसकै लय र ताल बटुलेर
कलम कविता कोर्छ नतमस्तक भएर
उन्मुक्त गीतहरूको गायक
मेरो कविताको नायक ।


अवचेतन कुहिरो हटेपछि
मनमा चेतनाको बाढी पसेपछि
अवरोधहरू भत्काउँदै हिँड्छ ऊ
काँडाहरूमा कुद्न सक्ने
डढेलाहरूमा बाटो खोज्दै हिँड्ने
हातमा चेतनाको राँको लिएर
बस्ती–बस्ती उज्याल्दै हिँड्ने
परिवर्तनको क्षितिज चुम्दै हिँड्ने
क्रान्तिवीर भनौँ या
निर्भीकताको परिचायक
मेरो कविताको नायक