भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मेरो मान्छे. / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:22, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


यदाकदा भनूँ या सदासर्वदा
निरङ्कुशता हिंस्रक पशु भएर गर्जँदा
थुनिँदा बाटाहरू छेकिँदा गोरेटाहरू
श्वासप्रश्वास लिन पनि कष्टकर हुँदा
परिवेश लथालिङ्ग हुँदा, भताभुङ्ग हुँदा
आफूआफूमा आफैँ रमाएर
आफ्नो कक्षमा आफैँलाई घुमाएर
सुरक्षित ओत खोजेर बस्न मान्दैन
मेरो मान्छे मौन साधेर ।

सृजनामा सधैँ लीन रहन्छ मेरो मान्छे
गन्तव्य त कहाँ हो कहाँ छ
यात्रामा तल्लीन रहन्छ मेरो मान्छे
फैलाएर जाँगरिला हत्केलाहरू
नयाँ पथ निर्माणमा गतिवान् रहन्छ मेरो मान्छे
झुक्तैन कस्तै कुनै शिखरसँग
टाकुरा भेट्न प्रयत्नशील रहन्छ मेरो मान्छे
थामेर परिस्थितिका आँधीबेहरीहरू
नाघेर कति हो कति जँघारहरू
पिएर विषका तीता घुड्काहरू
समयको परीक्षामा सफल रहन्छ मेरो मान्छे
थिचिँदा पनि पहाडजस्ता विश्वासघातहरूले
पराजित हुँदै नभई
विश्वासका आधारस्तम्भ निर्माण गरेर
सधैँसधैँ हिँडेको छ मेरो मान्छे ।

उपेक्षाका शीतलहरहरू चल्दा
रक्तसञ्चार बन्द भएर लडेन मेरो मान्छे
देखेर चारैतिर अवरोधहरू
गन्तव्यबाट निराश फर्केन मेरो मान्छे
भोगेर परिस्थितिका जटिलताहरू
आत्मरक्षाले भयकम्पित भएन मेरो मान्छे
बोकेर दुःख र कष्टका पहाडहरू
किंकर्तव्यविमूढ भएर झुकेन मेरो मान्छे
प्रहार गरे एटम न्युट्रोनहरूले
तर हिरोसिमा नागासाकीजस्तो भएर
डढेन मेरो मान्छे
तिरस्कारका चक्रवातहरू चलिरहे
उपेक्षाका खडेरीहरू परिरहे
तर पनि छातीभित्र कुलकुलाउने
प्रेमको मूल फुटाइरह्यो मेरो मान्छेले
छातीभित्रको शूल लुकाइरह्यो मेरो मान्छेले ।

कष्टकर प्रक्रियाबाट पार हुँदै
बनेपछि मानव मोनेराबाट
चुनौती दिँदै जीवनका जटिलताहरूलाई
पन्छाउँदै प्रकृतिका दुरूहताहरूलाई
निस्पट्ट अँध्यारा गुफाहरू
लामालामा चिसा हिमयुगहरू
पार गर्दै विजयी बन्यो मेरो मान्छे ।

 मेरो मान्छ स्वतन्त्र रह्यो
मेरो मान्छेले इच्छानुकूलको भूमि चुन्यो
स्वप्नदर्शी थियो ऊ, अन्तहीन सपना बुन्यो
मनको अन्तरालबाट परिवर्तनको बाटो चुन्यो ।

तर जब समाप्त भए
आदिम स्वतन्त्र युगहरू
गुमायो मानिसले
आफ्नो स्वाधीनता र स्वाभिमान
मेरो मानिस दास बन्यो
प्रेमको साटो घृणा
आत्मीयताको साटो उपेक्षा
विश्वासको साटो विश्वासघात
बारम्बार आहत हुँदै गयो मेरो मान्छे
घरीघरी मर्माहत हुँदै गयो मेरो मान्छे
विभीषिकाहरू, विपत्का शृङ्खलाहरू
आँधिबेहरी छिचोल्दै गयो मेरो मान्छेले
तर पनि उसभित्र
आत्मीयताको फूल मुस्कुराइरह्यो
तर पनि उसभित्र
प्रेमको मूल कुलकुलाइरह्यो ।
कसले औँल्याउन सक्छ
मेरो मानिस विस्थापित भई झरेको
कसले देखाउन सक्छ
मेरो मानिस भयकम्पित भई लडेको
बारम्बार आत्मबलिदानको
उदाहरण बनेको छ मेरो मान्छे ।

घोटिँदा घोटिँदा अनेकौँ पटक
समयको कसीमा
कसविहीन साबित भएको छ मेरो मान्छे
अविरल अनि लामो यात्रामा सृष्टिको
अनन्त दुखेको
तर कहीँ नचुकेको मेरो मान्छे
अखण्ड कालरात्रिहरूमा पनि
असभ्यताका बर्बर आँधीहरूमा पनि
हजारपल्ट मूच्र्छित हुँदै हजारपल्ट ब्यूँझदै
सत्यको सर्मथनमा, न्यायको पक्षमा
जयघोष गर्र्दै आएको छ मेरो मान्छे
फिलुङ्गोजस्तो मात्र थियो
बिस्तारै ज्वाला भएर दन्कियो मेरो मान्छे ।

अन्धकार काला गुफाहरूबाट
ब्यूँझियो मेरो मान्छे
छताछुल्ल पोखिए उसका सपनाहरू
कोमल पैतालाहरू उठाएर
यात्राको आरम्भ गर्यो
अत्यन्त दुरूह यात्रामा प्रस्थान गर्योछ
अग्लाअग्ला पहाड भनेन, तुफानी नदी भनेन
आँधी भनेन, हिमपात भनेन
अविरल चलिरहे–चलिरहे उसका पैतालाहरू
कहिले हिलाम्य भएर, कहिले रक्ताम्य भएर
बाक्ला भयानक जङ्गलहरू
हिंस्रक जङ्गली जनावरहरू
लामालामा विहड यात्राहरूको क्रममा
हजारौँ–हजारौँ आपत् र विपत्हरू पार गर्दै
ताते गर्दै सशङ्कित भएर ओर्लिएर
अँध्यारा काला गुफाहरूबाट
ब्रह्माण्डसम्म तन्कियो मेरो मान्छे
जीवनलाई आहुति दिँदै
कष्टकर प्रक्रियाहरू पार गर्दै
ज्ञानका नयाँनयाँ क्षितिज
उघार्दै गयो मेरो मान्छे
थकाइ मारेन प्राप्त सफलताहरूसँग
नयाँनयाँ प्राप्तिहरूको खोजमा
संलग्न रह्यो मेरो मान्छे ।

मुक्त भएपछि दुईवटै हातहरू
मेरो मान्छे अघि बढ्दै गयो
निराशा र कष्टको जँगार छिचल्दै गयो
हरेक क्षेत्रमा, हरेक फाँटमा
नयाँनयाँ परिधिहरूको अन्वेषणमा
भूगोलको परिधि
ज्ञानको पराकाष्ठा
विज्ञानको सीमा
विस्तारित गर्दै गयो मेरो मान्छे
स्थापित हुँदै गयो मेरो मान्छे ।

तर यात्रामा पृथ्वीको ब्रह्माण्डमा
अनेकौँ पल्ट अनेकौँ पल्ट
मेरो मान्छे काकाकुल बन्यो
मेरो मान्छे शोकाकुल बन्यो
थकित भयो मूच्र्छित भयो
पटकपटक
ग्रहण लाग्यो खग्रास भयो होला उज्यालो
अन्धकारले साम्राज्य कायम गर्योज होला
क्लान्त भयो होला शरीर ।
तर पनि हार मानेन मेरो मान्छेले
तर पनि निराश भएन मेरो मान्छे ।


मर्माहत भयो होला सत्य
विजयघोष भयो होला असत्यको
ङ्याकियो होला घाँटी न्यायको
पहिरियो होला विजयमाला अन्यायीले
छेकबार लाग्यो होला प्रगतिमा
शिर उठायो होला दुर्गतिले
तर उहिले र अहिले, भनौँ जहिले–तहिले
एकै निमेष नसोचीकन
मेरो मानिसले न्यायका पक्षमा हात उठाएको छ
मेरो मानिसले सत्यको समर्थनमा स्वर उरालेको छ
आफूले आफैँलाई निसानी लगाउँदै
आफूले आफैँलाई प्रहार गरेर
कठिन बलिदान दिँदै आएको छ मेरो मान्छेले
जटिल मार्ग प्रस्तर गर्दै
चुनौतीहरूको सामना गर्दै आएको छ
घरीघरी आहत हुँदै आएको छ
पटकपटक मर्माहत हुँदै आएको छ
मेरो मान्छे ।
 
टक्कर लिँदै, ठक्कर दिँदै अक्करहरूलाई
समयका भीषण प्रपातहरूमा
कतै नझुकेको, कहीँ नचुकेको मेरो मान्छे
शताब्दीऔँको यात्रामा
युगहरूका विचरणहरूमा
जर्जर मान्यताहरूका सङ्कीर्ण आक्रमणहरूबाट
कहिल्यै पनि विचलित भएन
बर्बर चिन्तनको प्राणघाती परीक्षामा उत्तीर्ण हुँदै
युग परिवर्तनको प्रवाहमा हेलिँदै
कुण्ठित परिवेशबाट उद्वेलित हुँदै
ठोक्किँदै आएको छ मेरो मान्छे
कोक्किँदै आएको छ मेरो मान्छे
पन्छाएर अज्ञानताको कुम्भकर्णे निद्रा
ज्ञानको दीप प्रज्वलित गर्दै आएको छ मेरो मान्छे ।
भष्मासुरहरू हत्केलाहरू फैलाउँदै आए
दुःशासनहरू चीरहरणका लागि प्रयासरत रहे
विरोधहरू जुटे अवरोधहरू जुटे
चारैतिर डढेलो छर्दै ज्वालामुखीहरू फुटे
तर सबैसबै पन्छाउँदै
लक्ष्य साधेर बढेको मेरो मान्छे
हजार अवरोधहरू जुटून्
हजार हत्केलाहरू उठून्
कहिल्यै नरोकिने अविरल यात्री
सधैँ गतिशील,
सधैँ प्रयत्नशील मेरो मान्छे ।
सम्पूर्ण गतिहीनताको विरूद्ध
मान्छे हुरी हुन्छ र हुँकार गर्छ
सम्पूर्ण अन्योलग्रस्तताका विरूद्ध
मान्छे चक्रवात हुन्छ र गर्जन गर्छ
साहसपुञ्ज अनि अविराम गति उसको
गतिशीलताको अर्को नाम हो मेरो मान्छे
निर्भीकताको अर्को उदाहरण हो मेरो मान्छे
ज्यारदार्नो ब्रुनो पाखण्डीहरूबाट अग्निदाह गरिने
सुकरात दुष्टहरूको विषको प्याला स्वीकार गर्ने
तर स्वीकार नगर्ने असत्यलाई
युगौँयुगदेखि सृष्टिको शुभारम्भदेखि
प्रकृतिका भीषण प्रकोपहरूसँग
हिमयुगका लामालामा शृङखलाहरूसँग
जुझ्दै हिँडेको मेरो मान्छे
भिड्दै हिँडेको मेरो मान्छे
कति हो कति लामो यात्रा
तय गर्दा पृथ्वीले ब्रह्माण्डको
जहिले–तहिले विकटतासँग जुझ्दै आएको
समयलाई कठिनतम परीक्षा
दिँदै आएको मेरो मान्छे ।
परिस्थितिको दास कहिल्यै भएन मेरो मान्छे
समयका कठिनतम कोणहरूमा
निराश कहिल्यै भएन मेरो मान्छे
एउटा मूल्य स्थापित गर्न
एउटा अक्करमा बाटो खन्न
गहन अन्धकारमा दीपझैँ बल्न
असभ्यतासँग, अन्यायसँग, बर्बरतासँग
अत्याचारसँग, दमनसँग, यातनाका दावानलहरूसँग
मृत्यु, पाखण्ड र अमानवीयतासँग
मानवको अनुहार लिएका दानवसँग
ठूलाठूला विनाशकारी युद्धसँग, युद्धसरदारसँग
हिटलरसँग, मुसलिनीसँग
भयकम्पित भएन मेरो मान्छे
एकक्षण पनि टक्क अडिएन मेरो मान्छे
आत्मबल हराएर काँतर भएन मेरो मान्छे
लड्दै गयो, लड्दै गयो
असहज र अन्धकार परिवेशमा पनि
अघि बढ्दै गयो
असभ्यता भत्काउँदै गयो,
अन्धकार मेटाउँदै गयो
सृजनशील मस्तिष्क र दृढ
पैतालाहरूले अघि बढ्दै गयो
स्वप्नद्रष्टा थियो अन्तहीन सपना बुन्यो
मनैबाट कर्मैबाट परिवर्तनको बाटो चुन्यो ।

कठिन प्रश्नको समाधान हो मान्छे
साहस र शक्तिको परिचय हो मान्छे
युगको सशक्त विजय हो मान्छे
चेतनाका प्रखर रश्मिहरू
प्रज्वलित भएपछि मस्तिष्कमा
दह्रोभन्दा दह्रो बन्धन
चुँडाल्न सक्छ मेरो मान्छे
चुँडालेर पराधीनताका साङ्लाहरू
ब्यूँझेर अज्ञानता गहिरो निद्राबाट
मुक्तिको गीत गाउँछ मेरो मान्छे ।

लामो हिँडाइमा समयको
मेरो मानिस युगनिर्माता बन्यो
बोधिसङ्खव प्राप्त गर्योब
मेरो मान्छेले र बुद्ध बन्यो
राक्षसतङ्खवले परास्त भयो कहिले
युद्धसरदार बन्यो
कसरी ढुङ्गो भयो मेरो मानिसको मन
कसरी लाटोबुङ्गो भयो मेरो मानिसको चेतना
मेरो मानिस हिटलर बन्यो
सुरम्य बोधिवृक्षको फेदीदेखि
भयावह ग्याँस–च्याम्बरसम्म
मेरो मानिसले
नयाँनयाँ कुराको कीर्तिमान कायम गर्योम
अविश्वसनीय उदाहरणहरू स्थापित गर्योय
त्याग र बलिदानको कीर्तिमान
साहस र धैर्यको कीर्तिमान
नवनिर्माणको कीर्तिमान
सुन्दर संरचनाको कीर्तिमान
कतैकतै एकादुई विध्वंसको कीर्तिमान
मेरो मानिस नदीजस्तो बहँदै गयो
धेरै छालहरू जीवनदान गर्दै गए,
उर्वरता छर्दै गए
कहीँ–कतै कुनैकुनै छालहरूले
विनासको दुन्दुभि फुक्तै गए,
सर्वनाश गर्दै गए
कतैकतै इतिहासका शुभ्र पानाहरूमा
अङ्कित पनि भए ग्यासका च्याम्बरहरू
भष्मीभूत बने मानिसहरू
ज्यूँदै चिहानमा पुरिए सपनाहरू
जे भए पनि जस्तो भए पनि
पीरले कहालीको इतिहासको पानामा
देखिए पनि रगतका छिटाछाटीहरू
कहीँकतै रचिए पनि कोतहरू
कहीँकतै उघारिए पनि ओतहरू
तर विश्वास छ मलाई
एक दिन भयमुक्त हुनेछ यो विश्व
उठेपछि कुहिरो स्वार्थको
अवश्य प्रेमयुक्त हुनेछ यो विश्व
द्वन्द्वमा सत्य र असत्यको
युद्धमा न्याय र अन्यायको
सत्य र न्यायको विजयमा
उन्मुक्त हुनेछ मेरो मान्छे
त्यसपछि सुन्दर संसारको
अनवरत सृजनामा लीन हुनेछ
मेरो मान्छे ।

सबैसबै भुमरीहरू छल्दै
सबैसबै अत्यासहरू पन्साउँदै
आततायीहरूलाई हुँकार गर्दै, ज्यातिपुञ्जझैँ बल्दै
आकाङ्क्षाको सर्वोच्च शिखर ताकेर
अथाह उपलब्धिमा तल्लीन हुनेछ मेरो मान्छे
फालेर विषाक्त हतियारहरू
खोस्न छाडेर निर्धा–निमुखाको अधिकार
त्यागेर द्वेष र ईष्र्याहरू
धरतीलाई सुन्दर अनि शान्त रङ्गमञ्च बनाउन
प्रयत्नशील हुनेछ मेरो मान्छे
हाम फाल्नेछ अथाह ब्रह्माण्डको यात्रामा
सधैँसधैँ गतिशील हुनेछ मेरो मान्छे
नयाँनयाँ आविष्कारहरूमा
तल्लीन हुनेछ मेरो मान्छे
दुःख र कष्टका विषम जराहरू
चुँडाल्दै जानेछ मेरो मान्छेले
परास्त गरेर मृत्युलाई अमर हुनेछ मेरो मान्छे
अति सुन्दर हुनेछ रङ्गमञ्च संसारको अनि
त्यसको महानायक हुनेछ मेरो मान्छे ।
हिंसाको, युद्धको, कोलाहालको,
हत्याको र हाहाकारको विरूद्ध
शान्तिको, प्रकाशको, समर्थनमा
मानवता र भाइचाराको पक्षमा
धरतीमात्र होइन
सम्पूर्ण ब्रह्माण्डकै अधिपति हुनेछ मेरो मान्छे ।
आणविक अस्त्रहरू विनाश गर्न
युद्धसरदारहरूको विरोधमा
हुँकार गर्दै उठ्नेछ मेरो मान्छे
नयाँनयाँ मार्गहरू प्रस्तर गर्दै
धरतीलाई जगमग बनाउँदै,
जीवनलाई सुखी र सुन्दर बनाउन
नयाँनयाँ रहस्यहरूको उद्घाटन गर्दै
अघि, अघि अझ अघि
बढ्दै जानेछ मेरो मान्छे ।

मेरो मान्छे चिनिनेछ
फगत मान्छे भनेर
जातीयता, साम्प्रदायिकताको
साघुँरो घेराबाट मुक्त बनेर
र केवल मान्छे भनेर चिनिनेछ मेरो मान्छे
केवल मान्छे भनेर जानिनेछ मेरो मान्छे ।
म कामना गर्छु मनैदेखि
त्रसित नहोस् मान्छे मान्छेसँग
अर्मूत नबनोस् मान्छे मान्छेसँग
धूर्त नबनोस् मान्छे मान्छेसँग
हत्केलाहरू फैलियून् सधैँसधैँ
सृजनाका लागि, निर्माणका लागि
विभाजनका रेखाहरू मेट्न
पैतालाहरू सक्रिय हुन् सधैँसधैँ
मानवताको शिखर भेट्न
हराएर बुद्धिविवेक विकृत नहोस्
हृदयहरूमा मानव–प्रेम झङ्कृत होस्
सृष्टिको यो सुन्दर प्रशान्त
कहिल्यै अशान्त नहोस्
प्रवेश निषेध नलेखियोस् हृदयद्वारमा
सत्यका लागि, न्यायको पक्षमा
बितोस् जिन्दगी सधैँसधैँ
स्वार्थान्ध नहोस् मानिस कहिल्यै
सबैसबैको मनमा बुद्ध बसून्
युद्धले क्षतविक्षत छातीमा धराको
शान्तिको अक्षय लिउन घुसून्
करूणाले सधैँ ओतप्रोत होस् मेरो मान्छे
मानवताको अनुपम उदाहरण बनोस्
मेरो मान्छे
युगयुगसम्म धरतीको यस रङ्गमञ्चमा
यात्रारत रहोस् मेरो मान्छे
सृष्टिले जसरी फुलायो मानिसलाई
कृतज्ञ होस् मानिस सधैँसधैँ
जीवनप्रति, जगत्प्र्रति
शान्तिको अग्रदूत बनोस् मेरो मान्छे ।