भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

वाग्मती लहरले उठेर बर्सिदेऊ... / बैरागी काइँला

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 18:21, 23 नवम्बर 2019 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बैरागी काइँला |अनुवादक= |संग्रह=ब...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

पानी... पानी... पानी
वाग्मती लहरले उठेर बर्सिदेऊ
पानी... पानी... पानी

जलेको मनझैँ
डढेलो सल्केको वनझैँ
रुख र पातहरूमा दुर्लभ अभिलेखहरूझैँ
सिङ्गो देश आगाको भेलमा जलिरहेछ जिउँदै ।

आगो मनबाट लाग्यो कि तनबाट ?
मनमा लाग्यो कि वनमा ?
लायौँ आफ्नै घरमा आगो आफैँले, उहिले कहिले ?
मैले लाएँ कि तिमीले लायौ ?
सीमा नाघेर कि को आयो तेस्रो व्यक्ति र लगायो आगो ?

खप्न सकेनौँ एकले अर्काको उपस्थिति,
अस्वीकारको ठक्करले ठक्कर दिँदै ठक्करले ठक्कर
सल्क्यो मन साँघुरो ठोँक्किदै द्वेष र हिंसाको झिल्काले
र समय र जीवनको भूगोल ढाक्यो...
चेतनभित्र, अवचेतनभित्र थाक स्मृतिमा इतिहास
ज्वालामुखीको मुखमा जलेरझैँ जलाइयो
इन्द्रचोक, वसन्तपुर, नयाँसडक,
संस्कृति,
सम्पदा,
सभ्यता,
शताब्दीऔँदेखिको मनुष्यता र
मानव उपलब्धिको लेखाजोखाको ठडिएको अग्लो लिङ्गो... ।

हाम्रो शब्द र स्वरहरू खोसेर
विगुलको चर्को धुनमा
अपहरित चेतनाको टाउकोमाथि बुटले कुल्चँदै
को आएर हाम्रो बुद्धिमा कवाज खेल्दै छ ?

काँधमा बलेको सडक भाँच्दै इँटाका टुक्राहरूले
आँखाहरूमा डढेलो सल्केको सल्केकै छ,
विगत र वर्तमान
र अन्धकारको गर्तमा अनागत,
रात जलेर देह डढेलो सल्कियो ।

पानी... पानी... पानी
वाग्मती लहरले उठेर बर्सिदेऊ...
पानी... पानी... पानी

क्षितिजमा सखारैको रातो बलेको सूर्य
तातो उम्लेको भकभकी लप्कोले
पृथ्वीमा क्याम्पफायर र
आकाशमा आगो लगाएर,
फूल र पातहरूको आहुतीमा पड्कँदो पटपटी,
आह ! ... जल्दै गरेका पखेटाले उडेका पन्छीहरू
र तिनको उडान... कतिन्जेल र कहाँसम्म ?

पानी... पानी... पानी
विष्णुमती लहरले उठेर बर्सिदेऊ...
पानी... पानी... पानी

फूल, पात र पुतलीका जलेका लासको खरानी
र मासुको गन्धबाट उम्कन
भागेर देशबाट...
कता हिँडेको यहाँ,
कहाँ पुगेर
यहाँ-कहाँ आएँ ?

सायद, मेरो देश अब अन्त कतै !
सायद, मेरो देश अब कुनै देशभित्र कतै छ !
सायद, मेरो देश अब अन्त कतै छैन !

फाँट, मैदान र पहाडको कठिनाइसँग जुधेर, हारेर, कुदेर
डुब्दै पौडिँदै डुब्दै
कोशी र महाकालीको उर्लँदो रगतको भलबाढी
डुब्दै पौडिँदै डुब्दै
अज्ञात लहरले फ्याँकेको बगरमा हतप्रभ,
डढेलो सल्केको तनमन
कुदेर
सल्केको आगोको जलनबाट मुक्त हुन
सकिनँ
सकेनौँ
सकेनन् ।

पानी... पानी... पानी
सप्तगण्डकी लहरले उठेर बर्सिदेऊ...
पानी... पानी... पानी

लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिनेछ
तर तिमी मसँग नै किन मर्दैछौ ?
लाग्थ्यो बन्दुक बोकेर म सुरक्षित हुनेछु
तर भयभीत अझ तिमीसँगै बढी किन हुन्छु ?

अ, अघि यसरी डढेको थिएन मेरो देश,
शुभ्र र शान्त थियो मेरो देश ।
फूल फुल्थे सुगन्धमय
बतास चल्थ्यो शीतल स्वास्थ्यबर्द्धक
पन्छीहरू स्वतन्त्र उड्दथे आकाशमा सीमाहीन
आफ्नै बोली बोलेर
र गीत गाएर आ-आफ्नै,
नदीमा प्रेम बहन्थ्यो,
वाग्मतीमा पानी,
सद्भावको हरियालीले जीवन हरियो ... बाँच्दथ्यौँ हामीहरू ।

पानी... पानी... पानी
सप्तकोशी लहरले उठेर बर्सिदेऊ...
पानी... पानी... पानी

किन खप्न सकेनौँ एकले अर्काको उपस्थिति...
के हामी एकै घरभित्र अटाउँदैनथ्यौँ ?
ऊ ऊ नै भएर
तिमी तिमी रहेर
म म नै भएर
आआफ्नै बोली बोलेर...
जसरी भिन्न रङका फूलहरू भिन्न वासना छरेर
फुल्दछन् फूलबारीमा फूल भएर फुलेर ?
र फूलबारी सम्पूर्णले हुन्छ सौन्दर्यमय फूल भएर फुलेर ?

पानी... पानी... पानी... पानी...