भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विक्षिप्तहरुको भाषण / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


रातौंरात अनिदो भइ
चिप्लिएका मेरा दिन र रातहरु
दिनमा चिसो घाम छैन कतै
रातमा ताराहरु चूपचाप छन् कतै
अक्टोपस अंधकारको पंजामुनि

छटपटाए !
निस्सासिए !!
कहालिए !!!
र, भनेछु
अंधकारको हिमाल उठिरहेछ ।
त्यहाँ हिमप्रपात छैन ।
त्यहाँ तुषारोपात छैन ।
केवल अंधकारको अविरल वर्षा भइरहेछ ।
यो स्थितिबोधले मलाई टोकिरहेको छ,
डसिरहेछ
र म
कुन शब्दमा हजूरहरुलाई निवेदन गरुँ ?
बिन्ती गरुँ ?
कि यो मेरो विक्षिप्त स्थितिको निर्माण हो ।
अथवा
यो समयको परिणति हो ।
मैले अनिर्णित छोडेको छु ।
मैले यी प्रश्नहरुलाई निर्णयहीन प्रश्नको थुप्रो भनेको छु ।
भनेको छु
अनि कहिलेकाहीं
महासागरहरु
नदीहरु पनि रातभरी/सपनाभरी
अनिद्रा र निंद्राको प्रदेशहरुमा
बग्ने गर्छन / कुद्ने गर्छन् ।
देशका कुनै फाँट र मैदानहरु देखिंदैन ।
गाउँले घरहरु/जंगलहरु
देखिने सडकहरु/अट्टालिकाहरु पनि
सबै नै चुर्लुम्म डुबेका छन् ।
मानौं मेरो देश अब टप्पु भइरहेछ ।
प्रत्येक सपनाको महलमा
बाढी पीडितहरुको कहाली लाग्दो स्वर
ज्यान जोगाउन भाग्ने जनावरहरुको कर्कश आवाज
फगत यस्तै
सागरका छालहरु/नदीका सुसाईहरु
मात्र मेरो सपना बन्छ
नितान्त मेरो सपना हुन्छ ।
अब त मेरो सपनालाई ग्याँसच्याम्बर भनिदिए पनि हुन्छ ।
र, ग्याँसच्याम्बरलाई मेरो सपना भने पनि हुन्छ ।
किनकी
अरुले देखेको सुखद भविष्य
शायद रेगिस्तानसम्म पुग्दा पनि
मेरो आँखामा नअटाउला
मेरो हृदयमा नबस्ला
हिजोआज,
मलाई मरुभूमिको
राप/ताप
र उष्णता मन पर्न थालिरहेछ ।
हिमाली प्रदेशको चिसो स्याँठ
मन पराउन छोडेको छु,
रुचाउन छोडेको छु ।
अरुले आकाशतिर हेर्दा
म धर्तीको पत्रै पत्र खोजिरहेको हुन्छु ।
म खोजिरहेको छु सपनाको देश !
 
अब मलाई जरुरी छैन ।
म राजीनामा गर्छु
भन्नोस् ?
मबाट अरु कुनै सेवा बाँकी छ भने ?
अहिले/आज
यो बर्षमा नै भनिदिनोस् !
म अरु पनि
तपाईहरुको नाममा/तिमीहरुको नाममा
कुन कार्यालयमा गई पास गर्नु पर्ने हो ?
भनिदिनोस् तपाईहरुले
मेरो जीवनको यात्राभरी
मेरो जीवनभरी
याद राख !
तर..................
कतै यस्तो नहोस्
जीवनको यात्रा गर्दागर्दै
टुप्पी मात्रै बाँकी रहेर
मानिस हराए पछि
म— लाई
तिम्रो आवश्यकता
र तिमीलाई मेरो आवश्यकता बोध भयो भने
म असमर्थताको शेरिफ दिनु बाहेक
कुनै खादा वा कुनै माला लिएर
स्वागत द्वार बनाउन सक्दिन ।
स्वागतम भन्न पनि सक्दिन ।
त्यसैले
हिजोआज
दिनहरुलाई बैशाखी रुघा लागेको छ ।
र, घामका किरणहरुले सिंगान बगाउँदैछ ।
जीवनलाई पनि
आजकल
जिजीविषाको फोबिया लागेको छ ।
तिमीलाई शंका नहोस् !
यो मेरो उजूरीपत्र होइन,
मात्र एउटा विक्षिप्तहरुको भाषण
मानविय गुणहरु हो— भन्नु पर्छ,
मान्नु पर्छ/बुझ्नु पर्छ ।
 
यो शहरको
धेरै अन्धकार गल्लीहरुमा
औंसी भरिएका मूल सडकहरुमा
हिजोआज गधा कराउँछ
र गधाजीको स्वरसँगै
कुकुर बहादुरले पनि आर्केष्ट्रा बजाउँछ ।
म यसलाई गीत सम्मेलन भनौं कि
संगीत सम्मेलन भनौँ ??के भनौं ?
त्यसो भए
अब तिमी हिमाल नखोज !
हिमाल खोज्दा खोज्दै
मैले/तिमीले
सेउती र सर्दुको पानी उचालेर
एक अन्जुली पानी मात्रलाई
यही हो हाम्रो हिमाल भने पुग्छ ।
त्यसैले
हिजोआज
रातीराती जूनकीरी उड्न बिर्सेका छन्,
चमेराहरु पनि चारधाम गएका होलान्
राती राती उड्न बिर्सेका छन् ।
यो हिमाललाई लगेर तिनीहरुले
(जूनकीरी/गधा/कुकुर र चमेराले)
महासागरमा
तिनीहरुको इतिहासको अस्तु
अन्त्येष्टि गरेर फर्कदै होलान् ।
हेर !
जीवनको अर्थ खोज्नु
तिमीले !
मैले !!
हामीले !!!
सबैले !!!
अस्तित्व खोजेमा/जिन्दगीको अर्थ खोजेमा
निषेध छ !
बन्देज छ !!
कतै शान्ति सुरक्षा नलागोस्, तिमीलाई
चूपचाप बस,मौन बस,
मौन बस/चूपचाप बस ।
भर्खरै एक हूल हुचीलहरुले
होहल्ला गरेर/चिच्याएर
यो शहरलाई घोर निंद्राबाट
ब्यूँझाएर गएका छन् ।
आज दिनभरि कागहरु
घर नजीकैको नरिवलको रुखमा बसेर
के खबर, के सुचना,
एक हूल कराएका थिए
मधुर स्वरमा गीत गाएका थिए ।
कृपया अहिले शान्त भइदेउ !
ए, शान्तिप्रिय बासिन्दाहरु !!
अब खोलाहरुमा पानी होइन/आगो बग्छ ।
नदीहरुमा डढेलो बग्छ ।
कोइलाहरु बग्छन् ।
बग्न देउ !
अब पानी नखानु !!
अब पानी नखानु !!!
ए, शान्तिप्रिय शहरवासीहरु !!!
तिमी शान्तिको नाममा रुद्राक्ष जपेर
कोशीमाथि/बाग्मतीमाथि/विष्णुमतीमाथि
गण्डकीमाथि/मेची र महाकालीमाथि
योगा गरेर
ईश्वरसँग
सन्धि गर !
हस्ताक्षर गर !!
विश्वास गर !!!
अब,
तिम्रो सन्धिपत्रलाई
म/हामी
र सबैले विक्षिप्तहरुको सन्धिपत्र भन्दैनौं ।
न पागलकै प्रलाप भन्छौं ।
हामी सबैको
विश्वासमाथि उठेका यी धेरै डढेलाहरु
फैलिंदैफैलिंदै जाँदैछन् ।
कतै तिमी र तिम्रो मानसिकतामा
झुक्किएर नफैलियोस् ।
 
 
मेरो प्राथना !
विरुपाक्षलाई यही छ
विरुपाक्ष !
तिमीलाई गाड्नेहरुको इतिहास खोज !
अन्यथा तिमी अधिकारपत्र देउ
म नचिकेता हुन सक्छु
म कोशी लिएर आउन सक्छु,
तिम्रो लागि/तिम्रो उद्घारको लागि ।
मात्र विरुपाक्ष !
तिमीले
यी चमेराहरुलाई,
गधाहरु,
कुकुरहरु
र जूनकीरीहरुलाई
यथावत बसिदिनु भनिदेउ ।
मलाई गल्लीमा कुकुरहरु रोएको मनपर्छ
र, जूनकीरी रातीराती टल्कदैं–टल्कदैं
डुलेको मनपर्छ/उडेको मनपर्छ ।
लाटोकोसेराहरु
मेरो घर नजीकै शिरीषको रुखमा झुण्डिएर
अथवा चमेराहरु
बिजुलीको तारमाथि उभिन्डिएर
रातीराती
कराएको स्वाद लाग्छ ।
रातीरातीसडकहरुमा पनि हुल्याहा केटाहरु
एक हूल बाँधेर
बोतलसँगै/चरेश र स्म्याकसँगै
मातेर
हो–हल्ला गरेको धेरै भो ।
त्यही स्वर राम्रो लाग्छ/त्यही स्वर मन पर्छ ।
त्यसैले
कसैलाई भाले बासेको
कसैलाई मयूर नाचेको
कसैलाई नाइटिङ्गलको गीत
र कसैलाई परेवा घुरेको मन परे पनि
मलाई त हुचीलको गीत मन पर्छ ।
लाटोकोसेरो संगीत मन पर्छ ।
कहिलेकाहीं मध्यरातमा
ज्यामीहरु कामले थाकेर मस्त निदाएको बेला
नजीकैको धोबीको गधालाई के खुशी हुन्छ, कुन्नि ?
मस्त गीत गाइदिन्छ ।
र, धारीम हातले धोबीलाई तीन पुस्ते गाली दिन्छ ।
बिचरा ज्यामीलाई के थाहा ?
के थाहा बिचरालाई ??
कि मध्यरातमा गधाहरुको सुहागरात हुन्छ ।
त्यसैले उनीहरुले स्वतन्त्रतापूर्वक गीत गाउँछन् ।
मलाई यस्तै गीत !
यस्तै स्वर !!
यस्तै भाषाहरु !!!
बेला बेलामा मन पर्छ ।
मलाई बेला बेलामा मन पर्ने गर्छ ।
तर मेरो जिउने प्रयत्नमा
काला कमिलाहरु लाम लागेर कतैं
बसाई सर्दैछन्
कतै ¥यालीसँग जाँदैछन् ।
 
ए, धरहरा !
म तिमीमाथिबाट हाम्फालेर
भि. सी. पाउनु निरर्थक ठान्छु ।
केवल निरर्थक ठान्छु ।
(एकपल्ट जंगबहादुरलाई सम्झिन्छु)
आश्चर्य लाग्छ !
कठै धरहरा,
तिमीमाथि उक्लेर छातासँगै सफलताका दुस्वप्न देख्नेहरु
कृपया आज अंकमाल गरौं !
कृपया आज अंकमाल गरौं !!
एकपल्ट तिमीले सफलताको उकाली चढेनौं त के भो र ?
तिम्रो असफलतामाथि नै
हामीले फूलहरु फुलाएका छौं ।
कतै मेरो अचम्मको कुरा सुनेर
कतै मेरो अचम्मको प्रस्ताव सुनेर
मलाई नै विक्षिप्तहरुको लाममा गन्ती गर्छौ कि ?
विक्षिप्त म !
विक्षिप्त भिमसेन थापा !!
विक्षिप्त जंग बहादुर !!!
विक्षिप्त धरहरा !!!
एकपल्ट धरहराको टुप्पोमाथि
एक हूल गिद्धहरु बसेर गएछन्
मध्यरातमा
एकपल्ट
हुचील कराएको थियो ।
मध्यरातपछिकतैं अपशकुन लागेन इतिहासलाई ?
कतै शान्ति महायज्ञ गर्नु पर्ने हुन्छ कि ?
अब यसपल्टरातौंरात अनिदो भई
चिप्लिएका मेरा दिन र रातहरुलाई
राँचीको बेड नं. ४२० मा बुक गरिदिन्छु ।
र, अस्पतालको पर्खालमाथि चढेर
धीत मरुन्जेल पिसाब गरिदिन्छु ।
 
यो चिसो घामलाई,
हाईभोल्टेज बिजुली स्टेशनमा लगेर
सेकताप/बेट्रीचार्ज गरिदिनु पर्छ ।
ताराहरु चूपचाप छन्
शान्ति सुरक्षा लागेको छ— यी ताराहरुलाई
यो खुर्पे चन्द्रमालाई बादलहरुको कैदबाट
धरौटीमा फिर्ता ल्याएको छु
र, उ तारेख धाउने गर्छ
क्षितिजदेखि आकाशसम्म
आकाशदेखि क्षितिजसम्म ।
 
आखिर बस चढ्ने ठाउँ
तिम्रो र मेरो
हामी सबैको एकै त हो ।
बरपिपल छेउको बस स्टप
बस स्टप छेउको बरपिपल
हिजोआज
बरपिपलमा कुनै चराहरु बस्दैनन्
तिम्रो/मेरो
हाम्रो टोपीमा कुनै चराले
अब बिष्टा गर्न सक्दैन ।
विश्वास छ ?
अलिकति विश्वास गर्नोस्
तर तपाईको घरमा
उतानो परेर नसुत्नुहोस्
सिलिङको माउसुलीले
बिष्टा गर्न पनि सक्छ ।
बिष्टामाथि कहिल्यै निको नहुने
यौटा आणविक घाउ पनि हुन सक्छ ।
सावधान !
सावधान !!
लाटोकोसेरो बाहेक धेरै स्यालहरु
हूल बाँधेर
गाउँको किनारै किनार
बस्तीको माझबाट
झण्डै झण्डै भानुचौकदेखि छाताचौकमा
रातीराती आउने गर्छन/ घुम्ने गर्छन
होशियार हुनु पर्छ सबैले !
सबैले होशियार हुनु पर्छ !!
नभए हाम्रो घरमा/ घरभित्र नै गएर
एउटा नडिया राग छाडेर जान सक्छ ।
तपाईलाई/तिमीलाई
कस्तो लाग्छ कुन्नि यो राग ?
मलाई बिहानीपखको भालेले बासेको भन्दा
कोइलीले ‘कुहु कुहु’ गाएको भन्दा
स्यालले गाएको गीत मन पर्छ ।
हो, स्यालको पनि जीवन छ ।
जीवन !
“Look to this day
For this is Life
The very life of life
For yesterday already a dream
And tomorrow is only a vision
But today well lived
Makes every yesterday a dream
And every tomorrow a vision of hope.” १
 
ओस्कर वाइल्ड चिच्याउँछ
अट्टाहास गर्छ,
भूगोलपार्कमाथि बसेर
“यो जिन्दगी !
यो जीवन !!
भोलिको मधुर कल्पनाको आशा मात्र हो”
 
एउटा पहाडको टुप्पाबाट
एउटा बुढा तामाङ्गले
बेंसीको तन्नेरी तामाङ्गलाई बोला’को सम्झिन्छु
“औंसी रो थेबा !”२
त........
ल..........
हलो जोतिरहेको तामाङ्गले सुनेछ —
“आमा सिजी रो !”३
टुपी बाँधेर
टोपी फुकालेर
त्यो मानिस आएछ —
”तिग आमा सिजी ?”४
होइन !
होइन !!
आज औंसीमा हलो जोत्नु हुँदैन
धर्मको विपरीत हुन्छ
यस्तै हो धर्म !
यस्तै हो जीवन !!
पहाडको फेदीबाट उक्लेर माथि पुगेपछि
केही खोज्छ मानिस
मानिस केही खोज्छ
तर
बिचरा............
मानिस !
केही प्राप्तिको सट्टा पसिना मात्र बगाउँछ ।
त्यसैले कुकुरहरु भुक्छन्, मध्यरातमा
मध्यरातमा
फेरीवालाले भूत भगाउने क्रममा
भैरुङ्ग जागे/भूत जागे
डंकिनी जागे भन्दै
प्रत्येक कार्तिक महिनामा पहाडबाट
मधेसतिर झर्ने गर्छन्
मधेसतिर पस्ने गर्छन् ।
ती फेरीवालाहरु/ती शंखवालाहरु
अनि म भैरुङ्गको पूजा गर्छु
आवश्यक छ भने डंकिनीको पनि पूजा गर्छु !
पूजा — म कागको पनि गर्छु
अझैं म भनु !
अझैं म भनु !!
प्रत्येक बौलाहा
धारामा चुहुने भाँडा थापेको बेला
म हेरिरहन्छु ।
म सोचिरहन्छु ।
कतै बलजिते लिम्बुलाई५
अझैं पुज्न बाँकी छ कि ?
श्रीमान बलजिते !
Look to this day
For this is Life
तिमी छैनौं/ठीकै भो
धारामा चुहुने भाँडा थाप्न परेन ।
फेदीबाट टोपी फुकालेर
टुपी बाँधेर
पहाडको टुप्पामा पुग्न परेन
ठीकै भो — तिम्रो मृत्युमा
And tomorrow is only a vision
भन्नेहरु थुप्रै छन / सुन्नेहरु पनि थुप्रै छन् ।
सबैले जीवनको पूजा गर्छन् ।
जीवनलाई श्रद्धा गर्छन् ।
म ठीक विपरीत
मृत्युको पूजा गर्छु !
मुर्दाघाटको पूजा गर्छु !!
देवी देउताहरु नरिसाउन् जीवन पनि नरिसाओस्
म वास्तवमा जीवन होइन !
पुर्खाको सन्तान पनि होइन !!
तिमीले मानेको देउता पनि होइन !!!
म आफैले आफैलाई म्हः पूजा गर्छु,
म आफैले आफैलाई पुज्ने गर्छु,
आफैले आफैलाई पुज्छु,
म कुमार देउता/कुमारी होइन ।
कुमारी पुजिन्छन् देवालय र मन्दिरहरुमा
म बुढाहरु पुज्छु/तन्नेरीहरु पुज्छु
“If the way I see you now is not the way
In which I saw you once, if in you
What I see now is new.” 6
 
तिमी !
गुलाफ / इन्द्रकमल र कमल नै
गुराँस/बुकी र सुनाखरीको के कुरा ?
लालुपाते/चमेली/पपी फूल मन पराउन सक्छौं ।
मलाई गुहेली र धुसुरे फूल
राम्रो लाग्ने गर्छ/मन पराउने गर्छु ।
हामी आफैं नयाँ फूलहरु रोपौं !
हामी आफैं नयाँ फूलहरु रोपौं !!
“Where you first moved bare footed
Kicking up dust
I rely often on this ordinary thought
Near Lake Baikal my own town waiting for me.” ७
यी गमलाहरुमा/फूलबारीहरुमा
यी शहर/गाउँहरु
सरोबर र झीलहरु
तिमी जन्मेका ठाउँहरु
हामी जन्मेका गाउँहरु
हामी खाली खुट्टा खेलेर/दौडेर
धुले सडकहरुमा धुलो उडाएका थियौं ।
यही माटोहरुमा हामी खेलेका थियौं
र, तिमीलाई,
आफ्नै शहरको/आफ्नै देशको फेवाताल
आफ्नै मानसरोवर र झीलहरु
तिम्रो नजिकै भएपनि
त्यो तिम्रो शहर र गाउँ होइन ।
त्यो तिम्रो देश होइन ।
त्यो तिम्रो राष्ट्र होइन ।
हाम्रो देश दौरा, सुरुवाल र टोपीमा
हिजोआज,
नयाँसडक, पुतलीसडक
र कहिलेकाहीं
छाताचौकमा नेपालीको लाइसेन्स लिएर
नेपाली “हुनु” को लेवलमा बाँचिरहेको हुन्छ ।
हो, बास्तवमा
तिमी !
म !!
हामी !!!
यो अचम्मको युगको
अचम्मको देशमा
हिंडिरहेछौं !
बाँचिरहेछौं !!
खुट्टाहरु छैनन्
तैपनि भकुन्डो खेलिरहेछौं ।
हातहरु छैनन्
तैपनि लेख्ने स्वाँग गरिरहेछौं ।
कोरले खाएका यी अनुहारहरुमा
कसैले प्याच्च थुके पनि हुन्थ्यो,
थुक्दैनन् ।
 
मलाई थाहा भएन
र, मलाई थाहा हुन सकेन ।
अहिलेसम्म यो देश मेरो हो ?
तिम्रो हो ??
अथवा हाम्रो हो ???
एकपल्ट यो ग्लोबलाई नै
०४५ सालमा भागबन्डा लगाउ !
र, हामी सबै मिलेर
यो भागबन्डालाई अदालतमा गई रजिष्ट्रेशन गरौं ।
यो युरोप !
यो अमेरिका !!
यो अष्ट्रेलिया !!!
यो अफ्रिका !!!
र यो एसिया !!!
यो रुस/यो अमेरिका
यो भारत/यो चीन
यो बेलायत
र यो नेपाल
र, भनौं.................................
यु. एन. ओ. लाई
तिमीले.............
ए.........
ए.........
ए...........
आजसम्म चौकिदारी गरेकोमा
सधन्यबाद !
तिमीलाई — अवकाश छ ।
तिम्रो तलब/संचयकोष
र बोनस
जे जे पाउँछौं विश्व बैंकको चेक भजाएर लैजानु ।
अब, यु. एन. ओ. को बडापत्रलाई रद्दी कागज भनेर
चनाचट्पटेवालासँग “दहीबडा” मा साट्नु पर्छ
र, भन्नु पर्छ/घोषणा नै गर्नुपर्छ ।
“आत्मसात आनन्दमयः”
“श्रुतेष्तु मुलत्वात”
“पुरुषार्थः अतः शब्दात बादारायणः”
— ब्रम्हसुत्रश्लोकहरु/सुत्रहरु
र ऋचाहरु
एकपल्ट तिमीले
सापटी देउ अरुलाई अन्यथा भाडामा लगाई देउ ।
 
यो बाँच्नेक्रम तिम्रो/मेरो
र हाम्रो सापटी कसैले मागेमा दिनु पर्छ ।
अन्यथा यसलाई बन्धकी राख्नु पर्छ ।
मेरो बालकपनमा नै मैले यो जिउने क्रमलाई
माटोको घर भनिदिएको छु ।
ढुंगा/खपटाको नक्कली पैसासँग
भाँडाकुटी खेल्दा नै साटिसकेको छु ।
अब त...................
केबल बाँसको खुट्टामाथि उभ्भिएर
खुट्टा छ भन्ने भ्रममा
आफुलाई !
ठूलो मानिसको भ्रममा
अग्लो हुनुको अर्थहिनतामा बाँचिरहेछौं ।
यो अन्धाहरुको नगरमा
यो लाटाहरुको देशमा
लाटोकोसेरोले पनि दिउँसै अन्धकार ठानेर
हिजोआज
मध्यान्हमा बास्नु थालेको छ ।
हिजोआज लाटोकोसेरोले पनि
मध्यान्हमा नै मीठो गीत गाउन थालेको छ ।
 
यो उजाड बस्ती
यी गाउँ/शहरहरुमा
मरुभूमि र बालुवा बाहेक
दरार फाटेर केही छैन ।
मनसुन छैन/बर्सात छैन ।
कहिलेकाही
बर्सातको याममा पनि घाम उदेक गरि लाग्ने गर्छ ।
आज नै हो म मधेस गएको बेला
घाम — एउटा मात्र होइन
धेरै धेरै लागेको थियो ।
घाम निस्तेज छ होला भनेकोमा
आजकै दिन हाई भोल्टेज भएछ ।
मलाई थाहा भएन
छाता ओढेर पनि मलाई शान्ति र आनन्द
कतै पनि आएन ।
म शान्त नै थिए
तैपनि शान्ति किन आएन प्रभु ?
"प्रभुजी मलाई भेडा बनाइ देउ !
मलाई भेडा बनाइ देउ प्रभुजी”८
The very life of life
For yesterday already a dream
And tomorrow is only a vision
But today well lived”
 
लेकबाट झरिरहेको
एक बथान भेडाहरु देखेर
मलाई नीत्शे सम्झना आउँछ
यी मूर्खहरुको यौटा लामो कतारमा/¥यालीमा
यी बौलाहाहरुको जुलूसमा/आमसभामा
बुद्धिको कुरा नगर !
हो, बुद्धिको कुरा नगर !!
कविता लेख्नु हुदैन
यो मूर्खहरुको शहरमा
तिमी पनिम पनि
हामी सबैले भेडा बनि दिनुपर्छ !
एकपल्ट मूर्ख बनि दिनुपर्छ !!
र, बौलाहाहरुको बस्तीमा
तिमी/म
हामी सबैले भलाद्मी बन्नु हुँदैन ।
बौलाहा नै बन्नु पर्छ ।
र, सबैले मूर्खहरुको जिन्दाबाद गाउँनु पर्छ ।
हामीले बौलाहाहरुको जय जयकार मनाउनु पर्छ ।
यो नगरको भजनमण्डलीको सदस्यता लिएर
प्रत्येक एकादशी र पूर्णेमा भजन गाउँनु पर्छ ।
भजन यस्तै हुन्छ
“आज सजिलैसँग बाँचौं !”
The very life of life
बाँचौं ! बाँचौं !! बाँचौं !!!
But today well lived
आज सजिलोसँग बाँचौं !
हो, आज सजिलोसँग बाँचौं !!
हामी सजिलोसँग बाँचौं !!!
त्यो एउटा नेपाली बौलाहाले
सधैं सधैं प्रलापेको सुनेका छौं ?
“थुक्क............... भगवान !
तिमीले सबैलाई घर दियौं,
परिवार दियौं,
मलाई मात्र किन दिन सकेनौं ?”
त्यो यसरी नै प्रत्येक
मन्दिरहरुमा/सडकहरुमा
देवालय र गल्लीहरुमा
बाँच्नेक्रममा सजिलोसँग बाँचेर चिच्याउँछ ।
प्रत्येकलाई थुक्ने गर्छ ।
प्रत्येकलाई गाली गर्छ ।
सक्ने भए त्यो पागलले
पिसाब नै गर्ने थियो होला — मन्दिरहरुमा
देउताहरुमा/मुर्तिहरुमा
अझैं सकेदेखि
पुजारीहरुको टाउकोलाई नै कमोट बनाउने थियो
अथवा मन्दिरमाथि नै
दिशा पिसाब गर्ने थियो होला ।
 
 
कतै/कुनै ठाउँमा
साँझ जंगलबाट धुवाँ उठ्छ
कुहिरो त्यसरी नै जम्मा हुन्छ ।
जसले गर्दा हरेक बिचार गुजुल्टिन्छ ।
र, बन्द मेरो मुखलाई दबाउँछ/सिइदिन्छ ।
 


पहाडहरुमा र भिजेका खेतहरुमा
मृत्यु पस्रेको छ हामीहरुलाई कुरेर
कुनै उदाश सडकको मोडमा
बन्दुकको नालले कुरिरहे झैं”९


 
एउटा कविले
कुनै देशबाट
पहाडहरु/पर्वतहरु/नागीहरुमाथि
हुस्सु उठिरहेको बेला
बादल झरिरहेको बेला
पहाडहरुमा र भिजेका खेतहरुमा
मृत्यु पस्रेको देखेछ
र, तुरुन्तै एउटा कविता लेखेछ
मृत्यु शायद जिन्दगीको खेतमा फल्ने धानको बाला हो कि ?
अथवा
मृत्यु शायद कुर्सीसँगै टाँसिएको करेन्टको ज्वाला हो कि ?
मृत्यु शायद
तिमीलाई !
मलाई !!
पर्खिरहेको होला
अहिले पनि कतैं
कुनै सडकका भीडहरुमा,
कुनै अन्धकार गल्लीका मोडहरुमा,
कुनै कफ्र्यू लागेका शहरहरुमा,
कुनै इमर्जेन्सी लागेका देशहरुमा,
कुनै खेतहरुमा,
कुनै कलेज र स्कुलहरुमा
र कुनै मैदानहरुमा
के थाहा ?
मृत्यु कहिले निःशुल्क पनि हुन सक्छ ।
हो, मृत्यु कहिलेकाहीं निःशुल्क पनि हुन्छ ।

तिमी
हामी सबै — मृत्युलाई
सयपत्री र गुलाफको माला लिएर
स्वागतद्वार बनाऔं,
स्वागतम हामी भनौं !
स्वागतम जिन्दगी !!
स्वागतम मृत्यु !!!
र, लेखिदिनेछु

बुद्धं शरणं गच्छामी !
संघं शरणं गच्छामी !!
धम्मं शरणं गच्छामी !!!
मृत्युं शरणं गच्छामी !!!