भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

विन्दु / धर्मराज थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:08, 9 जुलाई 2018 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


ए मेरी रानी ! निर्मल पानी ! जुनमा टल्केकी !
अन्कौं रंग लिएर तिमी झलल झल्केकी !
कसरी झर्‍यो कसरी बस्यौ कर्कले पातमा,
हृदय मेरो तानेर लिन्छ्यौ जुनेली रातमा ।

शीतल हावा सिरीरी चल्छ पातमा खेलेर,
तिमीले झिक्छ्यौ अनौठा नाच चञ्चल बनेर ।
सुनौला विन्दु ! ए सानी इन्दु ! दिलमा बसेकी,
टाकुरी मेरो हृदयबाट छहरा खसेकी,

एकान्त बीच अँधेरी खोल्सा खेलेकी,
ए कति राम्री सुन्दर सङ्ली जूनमा फुलेकी ।
कसरी अड्छ्यौ अनौठो चाला लिएर पातमा,
आँधीले सुट्ट अनन्ततिर लैजाला साथमा ।

विश्वको पात जीवन थोपा मर्त्यमा टल्केको,
स्वर्गको ज्योति हृदयभित्र देखिन्छ झल्केको ।
सपने बास कर्कले पात नासिन्छ भनेर,
सुन्दर ज्योति झल्काई दिन्छ्यौ हृदय चिरेर ।

टाढाको देश छैन कि बेस,
कुन दिशाबाट आएर बस्यौ
कसरी मेरो दिलमा घुस्यौ
अनन्त तिर फिराइ दृष्टि

मर्त्यमा छरी अमर ज्योति
अनन्ततिरै भागेर फेरि जाने छ तिम्रो सुर ?
आँखाकी नानी ! दिलकी रानी ! भनन तिम्रो सुर ।

जीवनकी सखी किन मदेखि भागेर गएकी ?
तिमीलाई देखि म घर आएँ
टाढाको प्रीति नजीक पाएँ
किन हो सानी चञ्चल भएकी ?

"अधेरी विश्व जुनकिरी उड्छन् वनको गुफामा,
स्वतन्त्र भई चिडीया उड्छन् बिहानी उषामा ।
रातको रात ओर्लेकी म त सत्यको झुलकामा,
जुनेली ज्योति फिंजारी बस्छु इच्छाको भुल्कामा ।

दिलको ठूलो बन्धन फुन्छु यो मर्त्य-थलमा,
ज्योतिले कालो हृदय धुन्छु सत्यको बलमा ।
हृदय-वन फुटाली मूल कुराको मुहान,
जीवन-रथ मनले हाँक्छु जादूको लगाम
जूनमा खेलछु, जुनमा हाँस्छु कर्कले पातमा
सुतेको विश्व उठाई लान्छु जुनेली रातमा ।
म सानो थोपा जीवन फोका ज्योतिले बल्दछु,
सुन्दर झिल्का झल्काई झुलला मर्त्य भै बल्दछु ।
जीवन यहाँ चम्किलो पारी जाने छु अनन्त,
स्वर्गको पारी मेरो छ घर फुलेको वसन्त ।"


(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक पद्यसङ्ग्रह बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)