भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

सडक र सत्ता / कुन्ता शर्मा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:29, 9 अक्टूबर 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=कुन्ता शर्मा |अनुवादक= |संग्रह= मे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


घण्टाघरको घाँटी सुकेको छ
धरहरा कुहिरोभित्र लुकेको छ
छाँदिरहेका छन् घोडा जङ्गबहादुरहरू
तरबारले अभिमानसिंहको घाँटी ताकेको छ
सेरिएर मरे मरून् भीमसेन थापाहरू
कुनै कुराको कत्ति औचित्य रहेन अब
यस्तै निरर्थक अवस्थामा बाँचिरहेको छ वर्तमान ।

इतिहास पढ्न छाडे मानिसले
भूगोललाई माया गर्न छाडे मानिसले
बहादुरका सन्तानहरूको
बहादुरी हराउन थालेको छ
परिवेश ह्वासह्वास्ती गन्हाउन थालेको छ ।
मानिसहरू
सम्पन्नताको शिखरमा पुगेजस्तो छ
हिजोआज भोकको गीत
भोजनको गीत बनेको छ
परिकार सरोकारको विषय बनेको छ
सम्पन्नताले कहाँकहाँ टेक्यो कुन्नि
उदेक छ, उदेक छ
अचेल मादलले जोवन बोल्न थालेको छ
अचेल सारङ्गीले
पिरतीको सुर खोल्न थालेको छ
सायद हामी पराकाष्ठामा पुग्यौँ प्राप्तिको
हामी अघायौँ–अघायौँ, बेस्सरी अघायौँ ।

अब भोक भन्ने शब्दलाई
फालिदिए हुन्छ शब्दकोषबाट
अब समस्या भन्ने शब्दलाई
निकालिदिए हुन्छ शब्दकोषबाट
ज–जसको थाप्लामा आशीर्वादका हात परे
ती मगनमस्त छन्, चाप्लुसीमा व्यस्त छन्
परिवर्तन रामै्र भएछ सायद
तरबार म्यानमा थन्काएर
मानिस दरबार धाउन थालेको छ
सबै कुरा सेलाएर मानिस
दरबार बनाउन थालेको छ ।
 
आँधी थामियो
मुसलधारे वर्षाको अन्त्य भयो
सायद खोजेको गन्तव्य भेटियो
हिजोआज मानिसहरू
सौन्दर्य–प्रसाधनमा मस्त भएका छन्
हिजोआज मानिसहरू
भजनकीर्तनमा व्यस्त भएका छन् ।

नैतिकता रासनजस्तो सर्वसुलभ भएको छ
बिक्री–वितरणकक्षमा रहेको छ
अखण्ड चेतना म्याराथुन धावक बनेको छ
विवेकमा कसेर बिर्को लागेको छ
ओठहरूमा अझै भोटेताल्चा कसिएको छ
चोक्टा खान गएकी बूढी
झोलमा डुबेर मरी
यही उखानको सार्थकता भएको छ
बलिया पखेटा भएका बाजहरूको
आवश्यकता छैन अहिले
माथिमाथि आकाशमा उड्ने
चक्रवातहरू चिर्ने
साहस चाहिँदैन अहिले
तलतिर क्षितिजदेखि अझ तलतिर
छापिएर उड्ने छिचिमिरा भए पुग्छ ।
विलखबन्द छु म
किंकर्तव्यविमूढ छु म
छटपटाइरहेछु, छटपटाइरहेछु
आफ्नै चिन्तनको व्यूहमा लटपटिइरहेको छु
प्रश्न गर्छु आफैँसित
कसले झा¥यो शिवजीको जटाबाट
सम्पन्नताको भगीरथ गङ्गालाई
कसले फेला पार्‍यो कहाँ फेला पार्‍यो
उन्मुक्तताको यस विराट् चङ्गालाई
किन देख्तिनँ, खोइ किन देख्तिनँ म
सबैसबै ओठहरूलाई मुस्कानले छोएको
सबैसबै आँखाहरू प्रसन्नताले बलेको
सबैसबैको चुलो धुवाँएको
सबैसबैको मन रमाएको ।

सडकबाट सत्तामा पुग्छ मान्छे
धेरै कुरामा आधारित हुन्छ यो यात्रा
सामान्य भाषा बुझ्ने मानिस
सबै कुरा बुझ्न थाल्छ
इतिहास बुझ्न थाल्छ
भूगोल बुझ्न थाल्छ
देशको उत्पत्ति
बीचको समयको इतिहास
उतारचढाव सबै बुझ्न थाल्छ
साम्राज्यवादीहरूको उपनिवेश
छिमेकीहरू गुलामीमा जकडिएको समय
अङ्गे्रजको तोप नेपालतिर ताकिएको समय
छातीले तोप छेक्ने बहादुरहरूको समय
नालापानी गौरवपूर्ण इतिहास
अनेकौँ वीर–विराङ्गनाको सहादतको इतिहास ।

सुन्नुपरिरहेको छ अमिलो मनले
कहिल्यै गुलाम नभएको देशका
गुलामहरूको कथा
नुनमा बिकेका दलालहरूको कथा
भतुवा निर्लज्जहरूको कथा
गुमेको भूमि फिर्ता माग्न नसक्ने
पङ्गु सत्तासीनहरूको कथा
कायर राजनेताहरूको कथा
फ्याँकिएको हाडमा छिनाझपट गर्ने
गल्लीका कुकुरहरूजस्तो
सत्तालिप्सामा हुरूक्क हुने
देशका सारथीहरूको कथा ।

यतिखेर मौनताको शिविरमा एक्लैएक्लै बसेर
लगातार–लगातार सोचिरहेछु
घाम नअस्ताउने देशका घृणित
साम्राज्यवादीहरूको आक्रमण
सुगौली सन्धि र त्यहाँ गुमेका भूभागहरू
विशाल देशको खुम्चिएको मानचित्र
पतन भएपछि पनि अङ्गे्रजको साम्राज्य
कसरी जहिलेतहिले मानिस उराल्ने
मानिसको रगत भकभकी उमाल्ने
मानिसलाई बलिदानका लागि उकास्ने
अनि गद्दारहरूको सत्ता चढ्ने सिँढी भयो
पदलोलुपहरूको सत्ता प्राप्त गर्ने टेको भयो
कुर्सी पाउनेबित्तिकै हराए सबै कुराहरू
सुस्ता र लिम्पियाधुराको कुरा
असमान सन्धि र सम्झौताहरूको कुरा
प्रायोजित रूपले डुबाइएको
जलमग्न सीमाक्षेत्रको कुरा
प्रत्येक दिन मिचिँदै गएको दसगजाको कुरा ।

जनताहरूले रगत बगाइरहे–बगाइरहे
जनताहरूले हतियार उज्याइरहे–उज्याइरहे
बलिदानका सर्वोच्च उदाहरणहरू बनाइरहे–बनाइरहे
त्याग र उत्सर्गको इतिहास
बलिदान र साहसको इतिहास
तर हरेक समयमा
तुहाएर जनताका सपनाहरू
लत्याएर जनताका आस्था र विश्वासहरू
समयले प्रशवित गरिरह्यो
आत्मरक्षायुक्त गद्दारहरू
परिवारको मुख मोसेर
छिमेकी पोस्नेहरू
आमाको अस्मिता बेचेर
अकुत वैभव जम्मा गर्नेहरू
जुठोपुरोमा बिक्ने पशुतुल्य दासहरू ।

यी पढ–अनपढ दासहरू
थाहा छैन सायद यिनीहरूलाई
देशको गौरवपूर्ण इतिहास
कुनै शक्तिको सामु कहिल्यै नझुकेको
विगत अनि वर्तमान
तर हिजोआज लगातार–लगातार
प्रशवित भइरहेका छन् गद्दारहरू
आत्मरक्षायुक्त कायरहरू
हुतिहाराहरू, लाछीहरू, गतिछाडाहरू
जुठोपुरोमा रमाउने भतुवाहरू
दरबानहरू, गोठालाहरू
अर्काको सीमारक्षार्थ
बलिदान दिने, रगत बगाउने मूर्खहरू
भातसँग अमूल्य जीवन साट्नेहरू ।

कुनै बेला अघिल्लो पङ्क्तिमा बसेर
हत्केलामा ज्यान राखेर हिँड्नेहरू
अहिले पछिल्तिर बसेर
सभा–समारोहमा ताली बजाउने
मेसिन बनेका छन्
कुनै बेलाका खुफियागिरीका सर्दारहरू
परिवर्तनका विरोधीहरू
अहिले फूलमालाहरूले सजिएका छन्
अहिले सर्वेसर्वा भएका छन्
अहिले हर्ताकर्ता भएका छन्
सत्ताको अनौठो रूप देखिएको छ
सत्ताको घीनलाग्दो रङ देखिएको छ ।